‘सामुदायिक बीउ बैंक नेपाल’ नेपालका सात वटै प्रदेशमा स्थापना भएका २७ वटा सामुदायिक बीउ बैंकहरूको राष्ट्रिय सञ्जाल हो। यसको मुख्य लक्ष ‘‘मानव समुदाय र प्रकृतिको हितका लागि स्थानीय बाली विविधताको यथास्थानीय संरक्षण तथा दिगो उपयोग’’ प्रवर्धन गर्नु रहेको छ।
‘सामुदायिक बीउ बैंक नेपाल’ स्थापनाको शुरूवात वि.सं. २०६९ फागुन ३० गतेबाट भएको हो। उक्त दिन जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली-बर्ड) को आयोजना तथा सहजिकरणमा बारा जिल्लामा अवस्थित कचोर्वा सामुदायिक बीउ बैंकमा नेपालमा सामुदायिक बीउ बैंक सञ्चालन गरिरहेका कृषकहरूको संस्थाका प्रतिनिधिहरू सहभागि भएको पहिलो गोष्ठी आयोजना गरिएको थियो। उक्त गोष्ठीको दोस्रो दिन पाँचवटा सामुदायिक बीउ बैंकका कृषक प्रतिनिधिहरू सम्मिलित एक तदर्थ समिति गठन गरिएको थियो र उक्त समितिलाइ ”सामुदायिक बीउ बैंक राष्ट्रिय समन्वय समिति” नामाकरण गरिएको थियो। उक्त भेलामा राष्ट्रिय जीनबैंक तथा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो।
वि.सं. २०७५ बैशाख २० देखि २२ गते सम्म ललितपुरमा सम्पन्न सामुदायिक बीउ बैंक सम्बन्धी दोस्रो राष्ट्रिय कार्यशाला गोष्ठीले केही वर्ष सम्म अनौपचारिक रूपमा सञ्चालनमा रहेको ”सामुदायिक बीउ बैंक राष्ट्रिय समन्वय समिति”लाइ वैधानिकता दिएर अघि बढ्नुपर्ने निर्णय गर्यो। त्यसै अनुसार उक्त समितिलाइ सामुदायिक बीउ बैंक नेपाल नामाकरण गरी कम्पनी ऐन २०६३ को दफा ५ (१) वमोजिम मुनाफा वितरण नगर्ने कम्पनीको रूपमा वि.सं. २०७६ साउन २० गते दर्ता गरिएको छ (दर्ता नं. २२०४९१/०७६/०७७)। यसको मुख्य उद्देश्य निम्न अनुसार रहेको छः
सामुदायिक बीउ बैंक नेपालमा आवद्द सदस्य सामुदायिक बीउ बैंकहरू स्थानीय बाली विविधताको यथास्थानीय संरक्षण तथा दिगो उपयोग कार्यमा प्रतिवद्द छन्। साथै यी सामुदायिक बीउ बैंकहरूले स्थानीय कृषकहरूको माग र आवश्यकता अनुसार विभिन्न थरिका स्थानीय र उन्नत जातका गुणस्तरीय बीउ तथा विरूवा उपलब्ध गराउने काम गर्दछन्। यसबाट समुदायका मानिसहरूको खाद्य सुरक्षा र पोषणको अवस्था सुधार गर्न र आयआर्जनमा टेवा पुगिरहेको छ।
सामुदायिक बीउ बैंक नेपालमा आवद्द २७ वटा सामुदायिक बीउ बैंकहरूले ७५ वटा बाली प्रजातीका १७१६ स्थानीय वा रैथाने जातहरू संरक्षण गरेका छन्। प्रत्येक वर्ष यी सबै जातहरू विविधता प्रदर्शनी स्थलमा लगाएर वा कृषकहरूलाइ रोप्न दिएर बीउ उत्पादन गरिन्छ। यदि सामुदायिक बीउ बैंकहरूले यी स्थानीय जातहरू संरक्षण नगरेका भए यी मध्ये धेरै जातहरू कृषकहरूको खेतबारीबाट लोप भएर जाने थिए। यी सामुदायिक बीउ बैंकहरूले स्थानीय कृषकहरूको माग अनुसार स्थानीय हावापानी सुहाउँदा करिब ५०० मेट्रिक टन स्थानीय र उन्नत जातका बीउ उत्पादन गरी अन्यत्र भन्दा कम मुल्यमा विक्रिवितरण गर्दछन्।
सामुदायिक बीउ बैंक नेपाल जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली-बर्ड), बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र र राष्ट्रिय जीनबैंकसँग सहकार्यमा काम गर्दछ। त्यसैगरी अन्तराष्ट्रिय स्तरमा विकास कोष, नर्वे र इटालीको रोममा अवस्थित खाद्य र कृषिका लागि वानस्पतिक आनुवंशिक स्रोत सम्बन्धी अन्तराष्ट्रिय सन्धीसँग पनि सहकार्य गर्दछ। विगतमा इटालीमा अवस्थित वोभर्सिटीसँग पनि समन्वयमा काम गर्यो।