
| सामुदायिक बीउ बैंककाे नाम | शिवगञ्ज सामुदायिक बीउ बैंक |
| सामुदायिक बीउ बैंक सञ्चालक संस्थाकाे नाम तथा वैधानिकाता | कञ्चन जैविक विविधता संरक्षण तथा विकास समिति, जिल्ला प्रशासन कार्यालय, झापा, दर्ता नं. २२१४ |
| ठेगाना | शिवसताक्षी नगरपालिका वडा नं. ७, चन्द्रडाँगी, झापा |
| सामुदायिक बीउ बैंककाे स्थापना मिति | वि.सं २०६६ |
| सदस्य संख्या | १०७० जना, (महिला ६९८ (६५ %), पुरूष ३७२ (३५ %) |
| संरक्षण गरेका स्थानीय बाली तथा जातहरूकाे संख्या | २६ प्रजातीका बालीहरूको १४९ वटा स्थानीय जातहरू |
| राष्ट्रिय बीउ विजन समितिमा दर्ता भएका स्थानीय जातहरू | कालोनुनयिा धान |
| प्रमुख नियमित क्रियाकलापहरू | धानका स्थानीय जातहरूकाे विविधता प्रदर्शनी स्थल स्थापना तथा व्यवस्थापन, कालोनुनयिाकाे स्राेत बीउ र उन्नत बीउ उत्पादन तथा बजरीकारण, स्थानीय र उन्नत जातका बीउ उत्पादन तथा बजारीकरण, सामुदायिक जैविक विविधता व्उवस्थापन काेष परिचालन अादि। |
वि.सं २०६५ देखि २०७३ सम्म जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली-बर्ड) पोखराले झापा जिल्लाको साविक शिवगञ्ज गाउँ विकास समितिमा सञ्चालन गरेको समुदायमा आधारित जैविक विविधता व्यवस्थापन कार्यक्रम (सी.बी.एम. परियोजना)को सहयोगमा वि.सं २०६६ मा शिवगञ्ज सामुदायिक बीउ बैंकको शुरूवात भएको हो। हाल यो सामुदायिक बीउ बैंक चन्द्रडाँगी कृषि फार्मको पूर्वपट्टि शिवसताक्षी नगरपालिका वडा नं. ७ को वडा कार्यालयको हाता भित्र अवस्थित छ। शिवगञ्ज सामुदायिक बीउ बैंक कञ्चन जैविक विविधता संरक्षण तथा विकास समितिद्वारा सञ्चालित छ। यो समिति वि.सं. २०७० साल फागुन २५ गते जिल्ला प्रशासन कार्यालय झापामा दर्ता भएको छ (दर्ता नं. २२१४)। यस समितिमा साविक शिवगञ्ज गा.वि.स. को ९ वटै वडामा गठन भएका २२ वटा कृषक समूहहरुमा आवद्ध १०७० जना सदस्य छन्, जस्मा महिला सदस्यहरुको संख्या ६९८ (६५ %) रहेको छ।
शिवगञ्ज सामुदायिक बीउ बैंकको मुख्य उद्देश्य नै शिवसताक्षी नगरपालिका र यसको वरपरका क्षेत्रहरूमा उपलब्ध तथा लोप हुन लागेका विभिन्न बालीहरूका स्थानीय जातहरूको पहिचान, सङ्कलन तथा संरक्षण गर्नु र कृषकहरूलाई सुलभरूपमा ती जातहरूको बीउ उपलब्ध गराउनु रहेको छ। यो सामुदायिक बीउ बैंकले हाल २६ प्रजातीका बालीहरूको १४९ वटा स्थानीय जातहरू नियमित रुपमा बीउ उत्पादन तथा संरक्षण गर्दै आईरहेको छ। यी मध्ये धानका १०६ वटा स्थानीय जातहरूको संरक्षणका लागि ४ कट्ठा जग्गा भाडामा लिएर प्रत्येक वर्ष विविधता प्रदर्शनी स्थल (Diversity Block) मा लगाउने गरिएको छ। अन्य बालीहरूका हकमा बीउ उत्पादन कार्य कृषकहरूको खेततबारीमा नै गरिन्छ। यसको अतिरिक्त प्रत्येक वर्ष यस सामुदायिक बीउ बैंकले धानका ५ वटा उन्नत जातका ५० टन जति बीउ उत्पादन गरी विक्रीवितरण पनि गर्दछ ।

सी.बी.एम. परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा शिवगञ्ज सामुदायिक बीउ बैंकको संलग्नतामा सम्पन्न भएको अर्को महत्वपूर्ण काम भनेको लोपोन्मुख कालोनुनयिा धानको राष्ट्रिय बीउ विजन समितिमा पञ्जिकरण पनि हो । यसको पञ्जिकरण वि.सं. २०७९ साउन महिनामा भएको हो। पञ्जिकरण भएपछि प्रत्येक वर्ष शिवगञ्ज सामुदायिक बीउ बैंकले यसको स्रोत बीउ र कृषकहरुका लागि आवश्यक ६ देखि ७ टन बीउ उत्पादन गरी विक्रीवितरण गर्दछ। फलस्वरुप वि.सं. २०६५ तिर शिवगञ्ज क्षेत्रबाट लोपहुने अवस्थामा पुगेको कालोनुनिया धान हाल व्यापक विस्तार भएको छ।

शिवगञ्ज सामुदायिक बीउ बैंकले संस्थामा आवद्ध १०७० जना सदस्यहरु र केही समूह बाहिरका कृषकहरुलाई प्रत्येक वर्षको तीवटै सिजनमा स्थानीय र उन्नत जातका तरकारी र अन्नबालीका बीउहरु निशुल्क वितरण गर्दछ। यसबाट स्थानीय जातहरुको संरक्षण हुनुका साथै सदस्यहरुलाई संस्थाप्रति आकर्षित गरिरहन मद्यत मिलेको छ ।
शिवगञ्ज सामुदायिक बीउ बैंक दिगो रूपमा सञ्चालनका लागि कञ्चन जैविक विविधता संरक्षण तथा विकास समितिले सामुदायिक जैविक विविधता व्यवस्थापन कोष स्थापाना गरी परिचालन गरिरहको छ । ली-बर्डले उपलब्ध गराएको रु. ९ लाख ५० हजार र समुदायको योगदान रु. ५० हजारबाट शुरु गरिएको यो कोष २०८२ जेठ मसान्त सम्म २६ लाख ३० हजार पुगेको छ । यो रकम प्रत्येक वर्ष वार्षिक १८ प्रतिशत व्याजदरमा सदस्यहरूलाई कृषिमा आधारित आयमूलक कार्यक्रम सञ्चालन गर्नका लागि ऋणका रूपमा परिचालन गरिन्छ। यसाबाट प्रत्येक वर्ष ३५० जना सदस्यहरु लाभान्वित हुने गरेका छन्। यस कोषको परिचालनबाट प्राप्त हुने व्याज र उन्नत तथा स्थानीय बीउको बिक्रीबाट प्राप्त मुनाफबाट संस्थाको कर्मचारीको तलब र प्रशासनिक खर्च चलाउने गरिएको छ ।
शिवगञ्ज सामुदायिक बीउ बैंकले शिवसताक्षी नगरपालिका, चन्द्रडाँगी कृषि फार्म, कृषि ज्ञान केन्द्र, ली-बर्ड, सामुदायिक बीउ बैंक संघ नेपाल लगायतका संघसंस्थाहरुसँग सहकार्यमा काम गर्दछ। शिवगञ्ज सामुदायिक बीउ बैंकले स्थानीय बाली विविधता संरक्षण, उपयोग र प्रवर्द्धनमा पुर्याएको योगदानको कदर गर्दै नेपाल सरकार मातहतका निकायहरुले वि.स. २०७९ मा विश्व खाद्य दिवसका अवसरमा, वि.स. २०८० मा राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा र वि.सं. २०८२ मा राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सवका अवसरमा नगद पुरस्कार तथा प्रमाणपत्र सहित सम्मान प्राप्त गरेको छ ।
Comments are closed