
पिङडाँडा सामुदायिक बीउ बैंक, सुनकोशी गाउँपालिका २, ठोकर्पा, सिन्धुपाल्चोक
सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका वडा नं २, ठोकर्पामा अवस्थित पिङडाँडा सामुदायिक बीउ बैंक वि.सं.२०७६ साल कार्तिक ७ गते स्थापना भएको हो। यसको वैधानिकताका लागि वि.सं.२०७८ भदौ २७ गते सुनकोशी गाउँपालिकामा दर्ता (दर्ता नं. ०१) गरिएको छ। यो सामुदायिक बीउ बैंक जैविक विविधता अनुसन्धान तथा विकासका लागि स्थानिय पहल (ली÷बर्ड)द्वारा सञ्चालित पर्यावरणीय कृषि प्रवर्द्धन कार्यक्रमको सहयोगमा स्थापना भएको हो। पिङडाँडा सामुदायिक बीउ बैंक पिङडाँडा साना किसान कृषि सहकारी संस्थाद्वारा सञ्चालित छ। यो सहकारी वि.सं. २०७२ मा डिभिजन सहकारी कार्यालय धुलिखेल, काभ्रेपलाञ्चोकमा दर्ता भई (दर्ता नं. २३१९) सुनकोशी गाउँपालिकाको सबै वडालाई कार्यक्षेत्र बनाएर काम गरिरहेको छ। यो सहकारीमा ९८ वटा कृषक समूहहरूमा आवद्ध ६९० महिला सहित ११५० जना शेयर सदस्यहरू रहेका छन्। सहकारीका सबै शेयर सदस्यहरू पिङडाँडा सामुदायिक बीउ बैंकको पिन सदस्य हुन। पिङडाँडा सामुदायिक बीउ बैंकको दैनिक क्रियाकलाप सञ्चालनका लागि सहकारीले एकजना कर्मचारीको व्यवस्था गरेको छ।
पिङडाँडा सामुदायिक बीउ बैंकको उद्देश्य सुनकोशी गाउँपालिका र उस्तै हावापानी भएका वरपरका समुदायमा उपलब्ध विभिन्न बालीहरुका स्थानीय जातहरुको पहिचान, अभिलेखीकरण संकलन र संरक्षण गर्नुका साथै किसानहरुको आवाश्यकता अनुसार स्थानीय तथा उन्नत जातका थरिथरिका बीउहरू सहज तरिकाले उपलब्ध गराउनु रहेको छ। हाल यो सामुदायिक बीउ बैंकले ५१ प्रजातीका बालीहरुको १४६ वटा स्थानीय जातहरु नियमित रुपमा बीउ उत्पादन तथा संरक्षण गर्दै आईरहेको छ। यी मध्ये धान र कोदोका १५/१५ जातहरू प्रत्येक वर्ष जातीय विविधता प्रदर्शनी स्थलमा लगाएर संरक्षण गरिन्छ भने अन्य बालीहरुका हकमा बीउ उत्पादन कार्य कृषकहरुको खेतबारीमा नै गरिन्छ। त्यसैगरी दिर्घकालिन संरक्षणका लागि २० प्रजातीका ६२ स्थानीय जातहरुको पासपोर्ट विवरण तयार गरी राष्ट्रिय जिन बैंक, खुमलटारमा पठाइएको छ ।

वि.स. २०८१ मा ली÷बर्डको सहयोग तथा सजहिकरणमा पिङडाँडा सामुदायिक बीउ बैंकले यस भेगमा प्रशस्त खेती गरिने हरियो काउचिन धान राष्ट्रिय बीउ विजन समितिमा पञ्जिकरण गरेको छ। यसको मुख्य उद्देश्य गुणस्तरीय स्रोत बीउ तथा उन्नत बीउ उत्पादन तथा बजारीकरण गर्नु भएकाले वि.स. २०८२ मा १ टन बीउ उत्पादन गर्ने लक्ष अनुसार बीउ उत्पादन भइरहेको छ। साथै पिङडाँडा सामुदायिक बीउ बैंकले प्रत्येक वर्ष धान, मकै, कोदो, लट्टे, घिउसिमी लगायतका बालीहरूका १० वटा भन्दा बढी स्थानीय तथा उन्नत जातका १७ देखि २० टन बीउ उत्पादन गरी प्रमाणीकरण तथा बजारिकरण गर्दै आएको छ।

पिङडाँडा सामुदायिक बीउ बैंकले स्थानीय कृषकहरुलाई उनीहरूले माग गरे अनुसारका स्थानीय बीउ निशुल्क दिने र उत्पादन भएपछि गुणस्तरीय बीउ सामुदायिक बीउ बैंकमा फिर्ता गर्ने सर्तमा बीउ वितरण गर्दछ। त्यसैगरी स्थानीय जात संरक्षणमा उत्कृष्ट योगदान पुर्याउने कृषकहरूलाई सहकारीको साधारण सभामा सम्मान पत्र दिएर सम्मान गर्दै आएको छ। पिङडाँडा सामुदायिक बीउ बैंकले प्रत्येक वर्ष कृषि जैविक विविधता दिवस मनाउने र अन्य चेतनामूलक क्रियाकलापहरू पनि सञ्चालन गर्दै आएको छ। यी क्रियाकलापहरूले गर्दा कृषकहरू सामुदायिक बीउ बैंकप्रति आकर्षित भइरहेका छन्।
पिङडाँडा सामुदायिक बीउ बैंकले सुनकोशी गाउँपालिका भित्र उत्पादित स्थानीय बालीहरुमा आधारित खाद्यवस्तुहरू “सिन्धु रैथाने” ब्रान्ड बनाई बजारीकरण शुरू गरेको छ। खाद्यवस्तुहरूको बजारिकरण मुलतः मेला तथा महोत्सवहरू मार्फत गरिन्छ।
पिङडाँडा सामुदायिक बीउ बैंकको दिगोपनाका लागि पिङडाँडा साना किसान कृषि सहकारी संस्थाले सामुदायिक जैविक विविधता कोष स्थापना गरेको छ। यसमा लीबर्डबाट चार लाख २५ हजार, सुनकोशी गाउँपालिकाबाट एक लाख र सहकारीको तर्फबाट १ लाख ७५ हजारका साथै नेपाल सरकारबाट सामुदायिक बीउ बैंकले प्राप्त गरेको २५ हजार पुरस्कार गरी २०८२ असार मसान्त सम्म ७ लाख २५ हजार पुगेको छ। यो रकम १० प्रतिशत व्याजदरमा बीउ उत्पादक कृषक, स्थानीय जात संरक्षक कृषक र कृषि व्यवसाय गरी आयआर्जन गर्न चाहने कृषकहरुलाई ऋण प्रवाह गरिन्छ। यसरी प्राप्त व्याज र बीउ विक्रीको आम्दानीबाट कर्मचारीको तलब र प्रशासनिक खर्च व्यवस्थापन हुँदै आएको छ।
सामुदायिक बीउ बैंक दिगो रूपमा सञ्चालनका लागि पिङडाँडा साना किसान कृषि सहकारी संस्थाले “सामुदायिक जैविक विविधता व्यवस्थापान कोष परिचालन निर्देशिका २०७६” र “सामुदायिक बीउ बैंक सञ्चालन कार्यविधि २०७७” तयार गरी कार्यान्वयनमा ल्याएको छ भने समुदायिक बीउ बैंक सञ्चालन उपसमिति पनि गठन गरेको छ। सामुदायिक बीउ बैंकको कर्मचारीले यस समितिसँग समन्वयमा काम गर्दछ भने समितले सहकारीको व्यवस्थापन समितिसँग समन्वय गर्दछ।

पिङडाँडा सामुदायिक बीउ बैंकको सहकार्य लीबर्डसँग मात्र सिमित छैन। यसले सुनकोशी गाउँपालिका, जिल्ला कृषि विकास कार्यालय, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, राष्ट्रिय जिन बैंक, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र, बागमती प्रदेश कृषि विकास निर्देशनालय, सामुदायिक बीउ बैंक संघ नेपाल, अनमोल बीउ कम्पनी लगायतका सरकारी तथा निजी क्षेत्रका सरोकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा काम गर्दछ।
पिङडाँडा सामुदायिक बीउ बैंकले स्थानीय बाली विविधता संरक्षण, उपयोग तथा प्रवर्द्धनमा पुर्याएको उल्लेखनीय योगदानको कदर स्वरुप वि.स. २०८० माघ ४ गते दोस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा नेपाल सरकारबाट २५ हजार नगद र प्रमाणपत्र प्राप्त गरेको छ। त्यसैगरी २० प्रजातिका ६२ वटा स्थानीय जातहरू राष्ट्रिय जिन बैंकमा परस्थानीय संरक्षणका लागि उपलब्ध गराए वापत राष्ट्रिय जिन बैंकले कदरपत्र प्रदान गरेको छ। साथै वि.सं. २०८० मा आयोजना भएको वृहत काभ्रोपलाञ्चोक महोत्सवमा रैथाने बीउ संरक्षण र स्थानीय खाद्य पदार्थको बजार प्रवर्द्धनमा उत्कृष्ट योगदान पुर्याएवापत जिल्ला कृषि विकास कार्यलय, धुलिखेलले दुई हजार पुरस्कार र सम्मान पत्र प्रदान गरेको छ। आगामी दिनमा स्थानीय बाली विविधता संरक्षण, बीउ उत्पादन तथा बजारीकरण, स्थानीय जातमा आधारित कृषि उपज संकलन तथा बजारीकरण जस्ता कार्यहरू बढाउँदै लैजाने योजना रहेको छ।
Comments are closed