
घण्टेश्वर सामुदायिक बीउ बैंक, जोरायल गाउँपालिका १, गैरा, डोटी
घण्टेश्वर सामुदायिक बीउ बैंकको स्थापना वि.सं. २०६८ जेष्ठ ५ गते जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली÷बर्ड)द्वारा सञ्चालित समुदायमा आधारित जैविक विविधता व्यवस्थापन कार्यक्रमको सहयोगमा भएको हो। यो सामुदायिक बीउ बैंकको सञ्चालन जैविक विविधता संरक्षण कृषि सहकारी संस्थाले गर्दछ। यसको स्थापना वि.सं. २०७० मा भएको हो। सहकारीको रूपमा दर्ता हुनु अघि यो घण्टेश्वर जैविक विविधता संरक्षण तथा विकास समितिका नाममा अनौपचारिकरूपमा सञ्चालित थियो। यो सामुदायिक बीउ बैंक डोटी जिल्लाको जोरायल गाउँपालिका १, गैरामा अवस्थित छ। घण्टेश्वर सामुदायिक बीउ बैंक डोटी जिल्लामा मात्र नभै सुदुरपश्चिम प्रदेशमा नै नमुना सामुदायिक बीउ बैंकको रुपमा परिचित छ।
जैविक विविधता संरक्षण कृषि सहकारी संस्थाको कार्यक्षेत्र जोरायल गाउँपालिकाको वडा नं. १ देखि ६ सम्म रहेको छ। यी वडाहरूमा गठन भएका २२ वटा बीउ उत्पादक कृषक समूहरुमा आवद्ध ३५९ (६५ प्रतिशत) महिला र १९४ (३५ प्रतिशत) पुरुष गरी ५५३ शेयर सदस्यहरू रहेका छन्। यस सहकारीको सञ्चालक समितिमा ११ जना सदस्यहरू रहेका छन् भने यी मध्ये एकजनाको संयोजकत्वमा ७ जना सदस्य रहेको सामुदायिक बीउ बैंक संचालन समिति गठन गरिएको हुन्छ। सहकारी तथा सामुदायिक बीउ बैंक सम्बन्धी दैनिक गतिविधिहरू सञ्चालनका लागि ३ जना कर्मचारीहरू कार्यरत छन्। सामुदायिक बीउ बैंकले गर्ने स्थानीय बीउ उत्पादन, संरक्षण, अनुगमन र उन्नत बीउ उत्पादन तथा बजारीकरण समितिका सदस्य र कर्मचारीद्वारा सञ्चालन गरिन्छ।
जैविक विविधता संरक्षण कृषि सहकारी संस्था तथा घण्टेश्वर सामुदायिक बीउ बैंकको मुख्य उद्देश्य जोरायल गाउँपालिका तथा उस्तै हावापानी भएका समुदायमा हाल उपलब्ध स्थानीय बाली विविधता संरक्षण, उपयोग तथा प्रवर्द्धन गर्नु र कृषकहरूका लागि आवश्यक स्थानीय र उन्नत जातका थरिथरिका बीउ उत्पादन तथा विक्रीवितरण गरी कृषि उपज उत्पादन वृद्धि मार्फत शेयर सदस्य, बीउ उत्पादक कृषकहरू र बीउ प्रयोगकर्ताहरूको आयआर्जन र जीविकोपार्जन सुधारमा टेवा पुर्याउनु रहेको छ।
घण्टेश्वर सामुदायिक बीउ बैंकले स्थापनाकाल देखि नै स्थानीय जातहरूको संरक्षण गर्दै आइरहेको छ। यस सामुदायिक बीउ बैंकले अन्नबाली, तरकारी, मसला बाली, दलहन बाली, तेलबाली गरी ३१ बाली प्रजातिका ७२ वटा स्थानीय जातहरू संरक्षण, बीउ उत्पादन र बिक्री वितरण गर्दै आइरहेको छ। स्थानीय स्तरमा बढी माग भएका मसुरो, लाहुरे सिमी, कालो सिमि, रातो सिमि, पालुङ्गो, लट्टे, कोदो, ठुलो प्याज, धनिया लगायतका बीउ वार्षिक रूपमा ५०० देखि ६०० के.जी. उत्पादन गरि बिक्रि वितरण गर्ने गरिएको छ।
त्यसै गरी ली÷बर्डको आर्थिक तथा प्राविधिक सहयोगमा वि.सं. २०८० मा जोरायल बास्मती धान राष्ट्रिय बीउबिजन समितिमा पञ्जिकरण भएको छ। त्यसपछि प्रत्येक वर्ष लगभग १००० के.जी. जोरायल बास्मतीको स्रोत बीउ तथा उन्नत बीउ उत्पादन गरी बिक्रीवितरण प्रारम्भ गरेको छ भने जोरायल बास्तमती चामल ब्राण्डिङ गरेर बजारीकरण गर्नका लागि जोरायल गाउँपालिकासँग सहकार्य गरिरहेको छ।
घण्टेश्वर सामुदायिक बीउ बैंकले यसको स्थापना काल देखि नै उन्नत जातका बीउ उत्पादन तथा बजारीकरण कार्यमा पनि उल्लेखनीय काम गरिरहेको छ। यस अन्तर्गत मकैको अरूण २, रामपुर कम्पोजिट, देउती, मनकामना ३; मुलाको मिनुअर्ली, ४० दिने र टोकिनासे); रायोको मार्फा चौडापात, खमुल चौडापात, खुमल रातोका साथै केराउ, गाँजर, धनिया, ब्रोकाउली, काउली, आलु आदि बालीहरूको वार्षिक ५० देखि ७५ टन बीउ उत्पादन गरिन्छ। यी बीउहरूको उत्पादन तथा बजारीकरण जिल्ला भित्र र जिल्ला बाहिरका स्थानीय निकाय, कृषि ज्ञान केन्द्र, एग्रोभेट तथा बीउ कम्पनीहरुसँग समन्वय तथा सहकार्यमा सञ्चालन भइरहेका छन्। उन्नत बीउ उत्पादन तथा बजारीकरणबाट लगभग एक करोडको कारोवार हुने गरेको छ भने यो पैसाको ठुलो हिस्सा बीउ उत्पादक कृषकहरूको हातमा जाने भएकाले उनीहरूक आम्दानी वृद्धि र जीविकोपार्जन सुधारमा टेवा पुगेको छ।

घण्टेश्वर सामुदायिक बीउ बैंकले सञ्चालन गरिरहेको अर्को महत्वपूर्ण काम भनेको स्थानीय डालेघाँस तथा फलपफुलका नर्सरी स्थापना तथा सञ्चालन पनि हो। वार्षिक रूपमा नर्सरीबाट कागती तथा अन्य अमिलो प्रजातीका २५ हजार भन्दा बढी बिरूवाहरू उत्पादन गरी विक्री वितरण गरिन्छ। यहाँबाट उत्पादित विरूवाहरू कृषकहरू, शेयर सदस्य, स्थानीय सरकार, कृषि ज्ञान केन्द्रहरूले लाने गरेका छन्। नर्सरीमा सिजन अनुसार का स्थानीय र उन्नत जातका तरकारीका बेर्नाहरू पनि उत्पादन गरेर विक्रीवितरण गरिन्छ। समग्रमा नर्सरीबाट वार्षिक चार लाख सम्म अम्दानी हुने गरेको छ।

घण्टेश्वर सामुदायिक बीउ बैंकलाई दिगो रूपमा सञ्चालन गर्नका लागि लीबर्डको विभिन्न परियोजनाहरू मार्फत १५ लाख ९१ हजार बीउ पुँजी कोष उपलब्ध गराएका छन्। यो कोष परिचालनका लागि निर्देशिका तयार गरिएको छ। निर्देशिका अनुसार कोषको रकम मुलतः कृषकहरूले उत्पादन गरेको बीउ खरिद गर्न प्रयोग गरिन्छ। वार्षिक रूपमा बीउको कारोवारबाट भएको खुद नाफाको २५% रकम बीउ पुँजी कोषमा थप्ने गरिएको छ।

्र
घण्टेश्वर सामुदायिक बीउ बैंक सञ्चालनका लागि आवश्यक भवन, मेसिन, औजार तथा उपकरणहरू शुरुवातबाटै मूलतः लीबर्डका विभिन्न परियोजनाहरू मार्फत सहयोग प्राप्त भएको हो। यसमा स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार मातहतका निकायहरूले पनि सहयोग पुर्याएका छन्। घण्टेश्वर सामुदायिक बीउ बैंकको शुरूवाती चरणमा तत्कालिन जिल्ला कृषि विकास कार्यालय, डोटी र साविक घण्टेश्वर गाउँ विकास समितिबाट प्राप्त सहयोगले यो सामुदायिक बीउ बैंकको जग बसाल्न उल्लेखनीय योगदान पुर्यायो। हाल जोरायल गाउँपालिका, कृषि विकास निर्देशनालय, कृषि ज्ञान केन्द्र, रास्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमसँग समन्वय तथा सहकार्यमा काम भइरहेको छ।
घण्टेश्वर सामुदायिक बीउ बैंकले स्थानीय बाली विविधता संरक्षण, उपयोग तथा प्रवर्द्धनमा पुर्याएको उल्लेखनीय योगदानको कदर स्वरुप वि.स. २०८० माघ ४ गते दोस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा नेपाल सरकारबाट २५ हजार नगद र प्रमाणपत्र प्राप्त गरेको छ।
असिना, रोग तथा कीराको प्रकोप, गुणस्तरीय स्रोत बीउको अभाव जस्ता चुनौतीहरू भएता पनि घण्टेश्वर सामुदायिक बीउ बैंकले सञ्चालन गरिरहेका विविध गतिविधिहरूले यहाँका कृषक, साझेदार संघसंस्था तथा सरोकारवाला निकायहरूमाझ यसको ख्याती बढिरहेको छ। आगामी दिनमा घण्टेश्वर सामुदायिक बीउ बैंकले उत्पादन गर्ने सबै बीउ आफ्नै ब्राण्डमा बिक्री वितरण गर्ने योजनामा रहेको छ।
Comments are closed