
बेलवा सामुदायिक बीउ बैंक, बाँसगढी नगरपालिका, वडा नं. २, बर्दिया
बेलवा सामुदायिक बीउ बैंक बर्दिया जिल्लाको बाँसगढी नगरपालिका, वडा नं. २ बनमुढवामा अवस्थित छ। यसको सञ्चालन मध्यवर्ती जैविक कृषि सहकारी संस्थाले गर्दछ। बेलवा सामुदायिक बीउ बैंकको स्थापना पश्चिमी तराई भू÷परिधी विकास आयोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा लीबर्ड मार्फत वि.सं. २०६५ मा भएको हो। त्यसबेला सामुदायिक बीउ बैंक स्थापना तथा सञ्चालनका माध्यमबाट स्थानीय बाली विविधता संरक्षण, उपयोग तथा प्रवर्द्धन गर्न साविक बेलवा गाउँ विकास समितिका ९ वटै वडाका कृषक समूहहरू समेटेर जैविक विविधता व्यवस्थापन समिति गठन गरिएको थियो। यहि समितिलाई वि.स. २०७५ मा जैविक विविधता कृषि सहकारी संस्थाको रूपमा दर्ता गरि सञ्चालन गरिएको तर वि.सं. २०८० असार ३१ गते बेलवा मध्यवर्ती कृषि सहकारी संस्थासँग एकीकृत भएपछि मध्यवर्ती जैविक कृषि सहकारी संस्था बनेको हो।
मध्यवर्ती जैविक कृषि सहकारी संस्थामा बाँसगढी नगरपालिका वडा नं. २ का ३५० जना (६७ प्रतिशत) महिला र १७१ जना (३३ प्रतिशत) पुरूष गरी ५२१ जना शेयर सदस्य रहेका छन्। सहकारीमा आवद्ध बहुमत सदस्यहरू सिमान्तकृत तथा विपन्न वर्गका मानिसहरू रहेका छन्। मध्यवर्ती जैविक कृषि सहकारीद्वारा सञ्चालित बेलवा सामुदायिक बीउ बैंकको मुख्य उद्देश्य बाँसगढी नगरपालिका तथा आसपासको क्षेत्रमा पाईने वा खेती गरिने विभिन्न बालीका स्थानीय जातहरुको पहिचान, अभिलेखीकरण, संकलन, बीउ उत्पादन, संरक्षण तथा प्रवर्द्धन गर्नु र स्थानीय स्तरमा उत्पादन गर्न सकिने थरिथरिका उन्नत जातका बीउ उत्पादन गरी शुलभरूपमा कृषकहरूलाई विक्रीवितरण गर्नु हो। साथै बचत परिचालन, बीउ उत्पादन, कृषि पेशमा आधारित आयमूलक कार्यक्रमहरू सञ्चालनका माध्यमबाट सहकारीमा आवद्ध सदस्यहरूको जीविकोपार्जनमा सुधार ल्याउनु पनि सहकारीको उद्देश्य रहेको छ।
बेलवा सामुदायिक बीउ बैंकले २८ बालीका ७६ वटा स्थानीय जातहरु संरक्षण, उत्पादन तथा विक्रीवितरण गरिरहेको छ। यी मध्ये धानका ४४ वटा जातहरू जातीय विविधता प्रदर्शनी स्थलमा लगाएर बीउ उत्पादन गरिन्छ भने बाँकी बीउ कृषकहरूसँग समन्वय गरेर स्थानीइ मास, भिण्डी, रायो, मुंग, घिरौला, केराउ आदी बीउ पनि उत्पादन गरिन्छ। समग्रमा वार्षिक रूपमा बेलवा सामुदायिक बीउ बैंकमा ९०० के.जी स्थानीय बीउ उत्पादन हुने गरेको छ भने ७५ जना कृषकहरूले विभिन्न थरिका स्थानीय बीउ लाने गरेका छन्।
बेलवा सामुदायिक बीउ बैंकले सामुदायिक बीउ बैंक संघ नेपाल मार्फत लीबर्डको आर्थिक तथा प्राविधिक सहयोगमा यहाँको लोपोन्मुख घिउपुरी धान राष्ट्रिय बीउ विजन समितिमा वि.सं. २०७८ मा पञ्जिकरण गरेको छ। त्यसपछि सामुदायिक बीउ बैंकले नियमित रूपमा घिउपुरी धानको स्रोत बीउ तथा उन्नत बीउ र चामल उत्पादन तथा बजारीकरण गरिरहेको छ।

स्थानीय जातहरूको संरक्षणका अलावा बेलवा सामुदायिक बीउ बैंकले प्रत्येक वर्ष धान, गहुँ र आलुका उन्नत जातका १५ देखि २० टन बीउ उत्पादन, प्रमाणीकरण तथा बजारीकरण गरिरहेको छ। यसबाट वडा तथा वरपरका कृषकहरूलाई सहजरूपमा गुणस्तरीय बीउको उपलब्धता बढेको छ। कतिपय बीउ नगरपालिकाको कृषि शाखा र एग्रोभेटहरूले पनि लिने गरेका छन्।
मध्यवर्ती जैविक कृषि सहकारी संस्थाले लीबर्ड र बाँसगढी नगरपालिकासँग साझेदारीमा विभिन्न क्रियाकलापहरू सञ्चालन गरिरहेको छ। ली÷बर्डसँग घरबगैँचा सुधार, तरकारी खेती, पशुपालन प्रवर्द्धन कोष परिचालन, पशु बिमा सञ्चालनमा छन् भने नगरपालिकासँग समन्वयमा गड्यौला मल उत्पादन भइरहेको छ। यसबाट सदस्यहरूको कृषि उपज उत्पादन तथा आम्दानी वृद्धि गरी जीविकोपार्जन सुधारमा टेवा पुगिरहेको छ।
सामुदायिक बीउ बैंकको दिगोपनाका लागि लीबर्डको सहयोगमा मध्यवर्ती जैविक कृषि सहकारी संस्थाले बीउ पशुपालन प्रवर्द्धन कोष र बीउ पूँजी कोष परिचालन गर्दछ। पशुपालन प्रवर्द्धन कोषबाट सहकारीका विपन्न सदस्यलाई पशुपालन कार्यका लागि ६ प्रतशित व्याजदरमा ऋण उपलब्ध गराइन्छ भने बीउ पूँजी कोषबाट स्थानीय तथा उन्नत बीउ खरिद विक्री गर्ने कार्य गरिन्छ। यो सहकारीमा वि.सं. २०८२ असार मसान्त सम्म पशुपालन प्रवर्द्धन कोषमा चार लाख र बीउ पूँजी कोषमा पाँच लाख रकम जम्मा भएको छ।

मध्यवर्ती जैविक कृषि सहकारी संस्थाले सामुदायिक बीउ बैंक सञ्चालन तथा अन्य विभिन्न क्रियाकलापहरू विभिन्न संघसंस्था तथा सरकारी निकायहरूसँग समन्वयमा काम गरिरहेको छ। यस सहकारी तथा सामुदायिक बीउ बैंक ली÷बर्डको सहयोग तथा सहजिकरणमा स्थापना भएता पनि साविक बेलवा गाउँ विकास समिति, हालको बाँसगढी नगरपालिका वडा नं. २, नगर कार्यपालिका लगायतको सहयोगमा भवन निर्माण तथा आवश्यक मेसिन औजारहरू व्यस्थापन गर्न सहज भएको छ। त्यसैगरी सहकारीकले बीउ उत्पादन कार्यका लागि कृषि अनुसन्धान निर्देशनालय खजुरा, एकिकृत कृषि तथा पशुपन्छि विकास कार्यलय बर्दिया, कृषि ज्ञान केन्द्र बाँकेले लगायतका निकायहरू समन्यवय तथा सहकार्यमा काम गर्दछ।आगामी दिनमा यस सामुदायिक बिउ बैंकले स्थानीय घिउपुरी धानको बीउ उत्पादन, चामल प्रसोधन तथा बजारीकरणमा जोड दिने, पश्चिम नेपालको तराइ क्षेत्रमा पाइने रैथाने बालीको संरक्षण तथा प्रवर्धन गरि कृषि जैविक विविधता संरक्षण गर्ने संस्थाको रुपमा कार्य, सहकारी पसल ब्यबसायलाइ थप प्रवर्धन गरि कृषकलाइ आवस्यक सामाग्रीहरु स्थानीय स्तरमा उपलब्ध गराउन सहजीकरण गर्ने रहेको छ | यस्तै बर्दिया जिल्लामा पाइने स्थानीय बालिहरुको दर्ता प्रक्रिया अगाडी बढाउने योजना सामुदायिक बिउ बैंकको रहेको छ |
Comments are closed