Aarba Namuna Community Seed Bank
आर्वा नमुना सामुदायिक बीउ बैंक

कास्की जिल्लाको पोखरा महानगरपालिका, वडा नं. १३, आर्वामा अवस्थित आर्वा नमुना सामुदायिक बीउ बैंक वि.सं. २०७९ पुस २४ गते स्थापना भएको हो । यस सामुदायिक बीउ बैंकको उद्देश्य वडा नं. १३ तथा वरपर उपलब्ध स्थानीय बाली विविधता संरक्षण, उपयोग तथा प्रवर्द्धन गर्नु रहेको छ । यो सामुदायिक बीउ बैंक नमुना प्राङ्गारिक कृषि सहकारी संस्थाले सञ्चालन गर्दछ । नमुना प्राङ्गारिक कृषि सहकारी संस्था वि.सं २०६५ जेष्ठ १० गते जिल्ला सहकारी कार्यालय कास्कीमा दर्ता भएको हो । यस सहकारीमा ६४ जना शेयर सदस्य छन्, जसमध्ये ३१ जना महिला र ३३ जना पुरुष रहेका छन् ।
आर्वा नमुना सामुदायिक बीउ बैंकले जैविक विविधता अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली−बर्ड), नेपाल कृषि अनुसन्धान परिषद्, पोखरा महानगरपालिका र कृषि ज्ञान केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा स्थापना भएको हो । यस सामुदायिक बीउ बैंकले ४६ प्रजातीका बालीहरुको ११० वटा स्थानीय जातहरु नियमित रुपमा बीउ उत्पादन तथा संरक्षण गर्दै आईरहेको छ । यी मध्ये जरेबालीका स्थानीय जातहरु विविधता प्रदर्शनी स्थल स्थापना गरि संरक्षण गरिन्छ भने अन्य बीउ हुने बालीहरुका हकमा सामुदायिक बिउ बैंकका सदस्य कृषकहरुले आफ्नै खेतबारीमा बीउ उत्पादन तथा संरक्षण गर्दछन् ।

आर्वा नमुना सामुदायिक बीउ बैंकले कृषकहरुको आवाश्यकता अनुसार सामुदायिक बीउ बैंकबाट स्थानीय बीउ लगेर जाने र बाली पाकेपछि सामुदायिक बीउ बैंकबाट लगेको परिमाणको बीउ फिर्ता गर्ने प्रणाली अपनाइएको छ । पैसा तिरेर बीउ किन्नु नपर्ने भएकाले यस प्रणालीबाट कृषकहरू खुसी र आकर्षित छन् । यस सामुदायिक बीउ बैंकले स्थानीय जात संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने कृषकहरूलाई प्रत्येक वर्ष सहकारीको साधारणसभामा सम्मान गर्दै आएको छ । साथै जनचेतनाका लागि कृषि जैविक विविधता दिवस मनाउने लगायतका क्रियाकलापहरू पनि सञ्चालन गर्दै आएको छ ।
यसका अतिरिक्त यस सामुदायिक बीउ बैंकले पोख्रेली जेठोबुढो धान, चौमासे र केन्टुकीवण्डर सिमी र मालेपाटन १ बोडीको करिव १० टन बीउ प्रत्येक वर्ष उत्पादन तथा बजारीकरण गर्दै आएको छ । यसका लागि पोखरा महानगरपालिका, कृषि ज्ञान केन्द्र, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कृषि विकास निर्देशनालय, ली−बर्ड, सामुदायिक बीउ बैंक संघ नेपाल र बीउ कम्पनी लगायतका निकायसँग सहकार्य गर्दै आएको छ ।
वि.सं. २०८१ मा पोखरा महानगरपालिकाले आयोजना गरेको कृषि जैविक विवधता प्रदर्शनी कार्यक्रममा नमुना प्राङ्गारिक कृषि सहकारी संस्थाले प्रथम स्थान हासिल गरि नगद पुरस्कारसहित सम्मानित भएको थियो ।
Comments are closed