Sundaridanda Community Seed Bank
सुन्दरीडाँडा सामुदायिक बीउ बैंक, जैविक स्रोत संरक्षण अभियान
पोखरा महानगरपालिका, वडा नं. ३१, सुन्दरीडाँडा, बेगनास, कास्की
Sundaridanda Community Seed Bank, Pokhara Metropolitan City 31, Begnas

जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली−बर्ड) को सहजिकरणमा जैविक स्रोत संरक्षण अभियान संस्था वि.सं. २०६२ सालमा स्थापना भएको हो । यो संस्था जिल्ला प्रशासन कार्यालय, कास्कीमा दर्ता भएको छ । यस संस्थाले वि.सं. २०७४ जेठ ३१ गते देखि जैविक विविधता सूचना केन्द्र एवं सुन्दरीडाँडा सामुदायिक बीउ बैंक स्थापना गरी सञ्चालन गरिरहेको छ । वि.सं. २०८१ देखि यो संस्था सामुदायिक बीउ बैंक संघ नेपालमा पनि आवद्ध छ । जैविक स्रोत संरक्षण अभियान संस्थामा २२ वटा कृषक समूह र एउटा सहकारी आवद्ध भएका छन् । यी समूह र सहकारीमा …. जना महिला सहित …… सदस्यहरू रहेका छन् ।
जैविक स्रोत संरक्षण अभियान संस्थाको मुख्य उद्देश्य यस क्षेत्रको जैविक विविधिताको दिगो संरक्षण, उपयोग र व्यवस्थापनका लागि स्थानीय समुदाय तथा कृषकहरुको क्षमता अभिवृद्धि, कृषि, पर्यटन प्रवर्द्धन र रैथाने जातमा आधारित कृषि उपजहरुको बजारीकरण मार्फत सदस्य र समुदायका मानिसहरूको जीविकोपार्जन सुधारमा टेवा पर्याउनु रहेको छ । संस्थाले यी कार्यहरू विभिन्न संघसंस्था तथा सरकारी निकायहरुसँग हातेमालो गर्दै सञ्चालन गर्दछ ।
स्थापनाकाल देखि नै जैविक स्रोत संरक्षण अभियानले रुपाताल र बेगनास तालका जलाधार क्षेत्रमा पाइने ३४ बाली प्रजातीका १६२ रैथाने जातहरुको संरक्षण र व्यवस्थापन गर्दै आएको छ । यी मध्ये ५३ जातका धान, १६ जातका कोदो र १२ जातका पिडालु प्रत्येक वर्ष जातीय विविधता प्रदर्शनी स्थल स्थापना गरि बीउको पुर्नउत्पादन गर्दछ । साथै बेगनासताल र रुपाताल जलाधार क्षेत्रमा पाइने धानका रैथाने जातहरु मध्ये समुदायले उत्कृष्ट ठानेका पहेंले, एक्ले, बर्यनी, कालो झिनुवा र रातो अनदीलाई राष्ट्रिय बीउ विजन समितिमा पञ्जिकरण गरेर प्रत्येक वर्ष यी जातहरुको स्रोत बीउ र उन्नत बीउ उत्पादन गरी विक्रीवितरण गर्दै आएको छ ।
बेगनासताल र रुपाताल जलाधार क्षेत्रमा प्रचुर मात्रामा जैविक विविधता रहेका छन् । त्यसैले यस क्षेत्रमा भ्रमण गर्न आउने पर्यटकहरुलाई लक्षित गरी जैविक स्रोत संरक्षण अभियानले जैविक विविधता सूचना केन्द्र तथा दृष्यावलोकन घर (View tower) स्थापना गरी सञ्चालन गरिरहेको छ । यस दृष्यावलोकन घरबाट बेगनास ताल र रुपा ताल र साविक लेखनाथ नगरपालिकाका अधिकांश भूभागहरुका साथै हिमालयका मनोरम दृश्यहरु अवलोकन गर्न सकिन्छ ।
जैविक विविधता सूचना केन्द्रमा रुपाताल र बेगनास तालको जलाधार क्षेत्र समेटिएको 3D नक्सा, रैथाने धान, कोदो, जरेबाली, माछा र चराहरु लगायतका विषयमा सूचना तथा जानकारी प्राप्त गर्न सकिन्छ । साथै यस क्षेत्रमा उल्लेखनीय काम गरेका संरक्षक कृषकहरुको जानकारी, परम्परागत ज्ञान तथा स्थानीय समुदायले प्रयोग गर्ने सामग्रीहरु पनि सङ्कलन गरी प्रदर्शन गरिएको छ । यहाँ पोखरा महानगरपालिकामा रहेका सात तालका फोटाहरुसहितका सूचना र जैविक विविधताबारेको जानकारी पढ्न, सिक्न र बुझ्न पाइनुका साथै थप अध्ययनका लागि सम्बन्धित ठाउँको सूचना उपलब्ध गराएको छ । सुचना केन्द्रमा यस क्षेत्रको दैनिक तापक्रम तथा वर्षाको जानकारी पाउनुका साथै संस्था र कृषक समुदायहरूको पहलमा भएका संरक्षणका क्रियाकलापहरूका विषयमा जानकारी पाउन सकिन्छ ।
यस संस्थाले जैविक विविधता तथा पर्यावरण संरक्षण सम्बन्धी चेतनामूलक कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएको छ । यसका साथै कृषकहरुको आयवृद्धि र पर्यावरणका लागि मौरीपालन, प्राङ्गारिक खेती, वृक्षारोपण जस्ता कृयाकलापहरु सञ्चालन गर्न सहजीकरण गर्दै आएको छ । विभिन्न सरोकारवाला सस्थाहरुसँगको सहकार्यमा जैविक विविधता प्रदर्शनी आयोजना, विभिन्न तालिमहरु सञ्चालन, सूचना केन्द्र अवलोकन गर्न आउने पर्यटकहरुलाई जानकारी गराउने जस्ता कार्यक्रमहरु निरन्तररुपमा सञ्चालन गर्दै आएको छ ।
यस संस्थाले सञ्चालन गरिरहेका जैविक विविधता संरक्षणका कार्यहरुको निरन्तर सञ्चालन गर्नका लागि घुम्तीकोष स्थापना गरिएको छ । उक्त कोषको रकमबाट संस्थामा आवद्ध कृषक सदस्यहरुलाई कृषि क्षेत्रमा आयआर्जनका क्रियाकलापहरू सञ्चालन गर्न सरल कर्जा उपलब्ध गराउँदै आएको छ । यसबाट प्राप्त व्याजबाट संस्थाले कर्मचारीको व्यवस्थापन र संरक्षणका क्रियाकलापहरु सञ्चालन गर्दछ । साथै सूचना केन्द्र तथा भ्यूटावरमा आउने पर्यटकहरुबाट लिइने शुल्कबाट पनि आम्दानी हुने गरेको छ । यसरी हुने आम्दानीको ४० प्रतिशत जलाधार संरक्षण कोषमा राखिन्छ, २० प्रतिशत अरूणज्योति प्रा.वि.का विद्यार्थीहरुलाई सहयोग गरिन्छ, २० प्रतिशत आम्दानी भ्यू टावर व्यवस्थापन समितिमा र बाँकी २० प्रतिशत आम्दानी सूचना केन्द्रको व्यवस्थापनमा विनियोजन गर्ने गरिएको छ ।
Comments are closed