Janajagaran Community Seed Bank | जनजागरण सामुदायिक बीउ बैंक
जनजागरण सामुदायिक बीउ बैंकको चिनारी

वि.सं. २०८० मा जनजागरण समाजको सहजीकरणमा जनजागरण बहुउद्देश्यीय सहकारी संस्था लि.द्वारा जनजागरण सामुदायिक बीउ बैंक स्थापना गरिएको हो । यसको सञ्चालन जनजागरण बहुउद्देश्यीय सहकारी संस्थाले गर्दछ । यो सामुदायिक बीउ बैंक जानकी गाउँपालिका, वडा नं. ५, बेलहरीमा रहेको छ ।
जनजागरण समाज र जनजागरण बहुउद्देश्यीय सहकारी संस्था लि.मा आवद्ध सबै सदस्यहरु साना तथा सिमान्तकृत कृषकहरु हुन् । उनीहरुका लागि आवश्यक गुणस्तरीय बीउमा पहुँच बढाउने उद्धेश्यले जनजागरण बहुउद्देश्यीय सहकारी संस्था लि.ले वि.सं २०६७ सालदेखि धान र गहुँको उन्नत जातका बीउ उत्पादन, भण्डारण, प्रशोधन तथा बजारीकरण गर्दै आइरहेको छ । तर हाईब्रिड बीउ बिक्रेता कम्पनीहरुको आकर्षक र भ्रामक विज्ञापनको पछि लागेर किसानहरुले स्थानीय तथा रैथाने अन्न तथा तरकारी बालीहरु लगाउन कम गर्दै आएका छन् ।
स्थानीय जातका बीउ विजन बजारमा उपलब्ध नहुने र गाउँघरमा उपलब्ध हुने कतिपय बीउ गुण्स्तरीय नहुने समस्या कृषकहरुले भोग्दै आएका छन् । अर्कोतरि समुदायमा पहिला सहजै उपलब्ध हुने स्थानीय जातका बीउ विजन दिनप्रतिदिन लोप हुँदै गईरहेका छन् । त्यसैले स्थानीय जातहरुको पहिचान, संरक्षण, उपयोग तथा प्रवर्द्धन गर्ने मुख्य उद्धेश्यले जनजागरण सामुदायिक बीउ बैंकको थालनी गरिएको हो ।

जनजागरण बहुउद्देश्यीय सहकारी संस्था लि. को कार्यक्षेत्र जानकी गाउँपालिका वडा नं. ५ बेलहरीमा ४ कट्ठा २ धुर जग्गा खरिद गरी सो स्थानमा बीउ भण्डारण र प्रशोधन गर्नका लागि सहकारीसँग ५ हजार क्वीन्टल बीउ भण्डारण गर्ने क्षमताका २ वटा भवनहरु निर्माण गरिएको छ । एउटा भवन उन्नत बीउको भण्डारण तथा प्रशोधन गर्न र अर्को भवन रैथाने बालीको संरक्षण तथा प्रवर्द्धनका साथै विविध तालिम सञ्चालन गर्न र सामुदायिक बीउ बैंक सञ्चालन गर्न प्रयोग गरिएको छ । यही भवनमा सस्तो पसल पनि सञ्चालन गरिन्छ । सहकारीसँग ट्रयाक्टर र बीउ ग्रेडिङ् मेशिनहरु पनि रहेका छन् ।
रैथाने बाली संरक्षण तथा प्रवर्द्धनका लागि जनजागरण साहकारीले समुदायमा सचेतना अभियानहरु शुरु गरेको छ । रैथाने बीउहरुको लोप भएमा भविष्यमा खाद्य संकट सृजना हुन सक्ने जोखिमको अनुमान गरेर सहकारी मार्फत रैथाने बाली संरक्षण तथा प्रवद्र्धन गर्न सचेतनामूलक कार्यक्रम शुरु गरिएको छ । रैथाने बीउ लोप हुदै गएको र हाईब्रीड बीउको प्रयोग बढ्दै गएको अवस्थामा यस कार्यले स्थानीय बीउको संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । जनजागरण सामुदायिक बीउ बैंक मार्फत किसानहरुसँग भएको खाद्यन्न, तरकारी, दलहन, तेलहन, मसला आदिका रैथाने जातका बीउहरु पहिचान तथा संकलन गरेर सामुदायिक बीउ बैंकमा राखिन्छ भने सिजन अनुसार किसानहरुलाई वितरण पनि गरिन्छ ।
वि.सं. २०८३ भदौ महिनादेखि जनजागरण सामुदायिक बीउ बैंक सुदृढीकरण तथा व्यवस्थित रुपमा सञ्चालनका लागि ली−बर्ड, पोखरा मार्फत विकास कोष, नर्वेको आर्थिक सहयोग तथा सामुदायिक बीउ बैंक संघ नेपालको प्राविधिक सहयोगमा कार्य योजना बनाएर कार्यान्वयन गर्ने कार्य भइरहेको छ ।
जनजागरण समाजको चिनारी
जनजागरण समाज वि.सं. २०५९ पुस २२ गते स्थापना भएको समुदायमा आधारित कार्यसञ्जाल संस्था हो । वि.सं. २०६० साउन २२ गते जिल्ला प्रशासन कार्यालय बाँकेमा दर्ता भएपछि (दर्ता नं ४८६) यस संस्थाले वैधानिकाता प्राप्त गरेको छ भने र वि.सं. २०६१ कार्तिक २१ गते समाज कल्याण परिषद् काठमान्डौंमा आवद्ध भएको (आवद्धता नं. १६९७४) छ ।
जनजागरण समाजको स्थापना बाँके जिल्लाको खजुरा गाउँपालिका वडा नं. ३ खजुरा, वडा नं. ७ सोनपुर, वडा नं. ८ रनियापुरका ४१ वटा सामुदायकि समूहहरु; जानकी गाउँपालिकाको वडा नं. १ साईगाउँ, वडा नं. २ बेलाभार, वडा नं. ३ ईन्द्रपुर र वडा नं. ५ बेलहरीका ७९ वटा सामुदायकि समूहहरु; र नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १७ परसपुरका १३ वटा सामुदायकि समूहहरु गरी रहेका १३३ वटा सामुदायिक समूहहरुबाट बनेका र ७ वटा मूल समितिहरुको अग्रसरतामा भएको हो । यी सामुदायिक समूहहरुमा मुलतः सिमान्तकृत समुदायका १,८१७ महिला र ७८० पुरुष गरी २,५९७ जना सदस्यहरु आवद्ध रहेका छन । यीनै २,५९७ जना जनगाजरण समजका साधारण सदस्यहरु हुन् । जनगागरण समाजको मुख्य उद्धश्य सामुदाययिक समूहहरुमा आवद्ध सिमान्तकृत समुदाय घरपरिवारको आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्य, खाद्य सुरक्षा सुधारमा टेवा पुर्याउनु र आधारभुत मानव अधिकारका विषयमा सचेत गराउनु रहेको छ । जनगाजरण समजको मुख्य कार्यालय खजुरा बजार, बाँकेमा रहेको छ ।
जनजागरण समाजले स्थापनाकालदेखि विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाहरुको आर्थिक तथा प्राविधिक सहयोगमा विभिन्न कार्यक्रमहरु कार्यान्वयन गर्दै आईरहेको छ । जनजागरण समाजको प्रयासले सिमान्तकृत समुदायको आयआर्जनमा सुधार, व्यवसायिक कृषि तथा पशुपालन अभिवृद्धि, गुणस्तरिय बीउको प्रयोग तथा रैथाने बालीको संरक्षण, खाद्य तथा पोषण सुरक्षामा सुधार, जलवायु अनुकुलन तथा प्रकोप जोखिम न्यूनिकरण, मानव अधिकार संरक्षण तथा सामुदायिक शान्ति प्रवर्द्धन, सामुदायिक समूह तथा सहकारीहरुको संस्थागत विकास, खानेपानी तथा सरसफाई सुधार, विद्यालय तथा मदरसाहरुमा बालमैत्री शिक्षण सुधार र समुदायमा सचेतना अभिवृद्धिमा महत्वपूर्ण सहयोग पुगेको छ ।
जनजागरण बहुउद्देश्यीय सहकारी संस्था लि.को चिनारी
जनजागरण बहुउद्देश्यीय सहकारी संस्था लि.को स्थापना वि.स. २०६५ साल असोज २७ गते भएको हो । यसको दर्ता सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय नेपालगञ्जमा वि.सं २०६५ मंसिर ३ गते भएको हो र यसको दर्ता नं ३५३ (९) रहेको छ । यस सहकारीको उद्धेश्य जनजागरण समाजमा आवद्ध सामुदायिक समूहहरुले स्थापनाकाल देखि गर्दै आएको मासिक बचत कोषलाई वैधानकिरुमा व्यवस्थापन गर्नका लागि गरिएको हो । यसको स्थापना जनजागरण समाजको अग्रसरता तथा सहजिकरणमा भएको हो । जनजागरण समाजको कार्यक्षेत्रमा रहेका सामुदायिक समूहका सदस्यहरु नै सहकारीका सदस्य हुने प्रावधान रहेको छ । यस सहकारीमा १,१७४ महिला र ५०३ पुरुष गरी १,६७७ जना शेयर सदस्य रहेका छन् । शेयर सदस्यहरुको आर्थिक र सामाजिक पहुँच अभिवृद्धिमा सहयोग पुर्याउने उद्देश्यले यस सहकारी स्थापना गरिएको हो । यसको मुख्य कार्यालय खजुरा बजार, बाँकेमा रहेको छ ।
जनजागरण समाजमा आवद्ध सामुदायिक समूहहरुले मासिक बचत गर्दै आएको कोषलाई संस्थागत रुपमा व्यवस्थापन गर्नका लागि जनजागरण बहुउद्देश्यीय सहकारी संस्था लि.स्थापना गरिए अनुसार बचत संकलन तथा ऋण परिचालन भईरहेको छ । हाल यस सहकारीमा बचत कोष ४ करोड र शेयर रकम १ करोड पुग्न लागेको छ । यो अधिकांश रकम ऋणमा लगानी गरिएको छ । सहकारीले किसानहरुलाई उन्नत बीउ उत्पादन तालिम प्रदान गर्नुका साथै किसानहरुले उत्पादन गरेको बीउ खरिद गर्ने गरेको छ । वार्षिक रुपमा ५०० देखि १००० क्वीन्टर धान र गहुँको उन्नत बीउ उत्पादन, भण्डारण, प्रशोधन गरी बजारीकरण गर्दै आएको छ । साथै अन्य कम्पनीहरुले उत्पादन गरेको मुल तथा उन्नत बीउहरुको खरिद बिक्री पनि गर्दै आएको छ । त्यसैगरी रासायनिक मल र भर्मी कम्पोष्ट खरिद बिक्री गर्दै गर्दछ भने सस्तो पसल सञ्चालन गरी आम्दानीको स्रोत बढाएको छ ।
थप जानकारीका लागि सम्पर्क
राम बहादुर पुन
कार्यकारी निर्देशक
जनजागरण समाज
सम्पर्क नं. ९८४८० ४६२९५
Comments are closed