
हाँकु सामुदायिक बीउ बैंकको स्थापना जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली÷बर्ड), राष्ट्रिय जीन बैंक र बायोभर्सिटी इन्टरनेशनलद्वारा सञ्चालित स्थानीय बाली परियोजनाको सहयोगबाट वि.सं. २०७५ भदौमा भएको हो। यसको सञ्चालन धौलिगाड कृषि सहकारी संस्थाले गर्दछ। यो सहकारी वि. सं. २०७७ चैत्र २९ गते मात्र तातोपानी गाउँकार्यपालिकाको कार्यालयमा दर्ता भएको छ। सहकारीका रूपमा दर्ता हुनु अघि यो धौलीगाड कृषि जैविक विविधता संरक्षण कृषक समूहका रूपमा सञ्चालित थियो। यो कृषक समूहको गठन वि.सं. २०७२ चैत्र महिनामा गरिएको थियो। हाँकु सामुदायिक बीउ बैंक तातोपानी गाउँपालिका, वडा नं ५, ऐरेनीमा अवस्थित छ।
धौलिगाड कृषि सहकारी संस्थाको कार्यक्षेत्र तातोपानी गाउँपालिकाको वडा नं ४ र ५ रहेको छ। यो सहकारीमा यी दुई वडाका १२७ घरधुरीमा आवद्ध १०९ जना महिला र १८ जना पुरुषहरू शेयर सदस्य रहेका छन्। यो सहकारीको मुख्य उद्देश्य सामुदायिक बीउ बैंक मार्फत तातोपानी गाउँपालिका र वरपरका क्षेत्रमा खेती गरिने मुख्यतया बीउ हुने विभिन्न बालीहरुका स्थानीय जातहरुको संरक्षण, दिगो उपयोग तथा प्रवर्द्धन गर्नु; स्थानीय कृषकहरुका लागि आवश्यक स्थानीय बीउ सहजरुपमा उपलब्ध गराउनु र स्थानीय जातहरूको प्रवर्द्धनमा आधारित भएर शेयर सदस्य र समुदायका मानिसहरूको जीविकोपार्जन सुधारमा टेवा पुर्याउनु रहेको छ।

हाँकु सामुदायिक बैंकले हाल १८ प्रजातिका बालीहरुको ५८ वटा स्थानीय जातहरु संरक्षण गरिरहेको छ। यसमा १० किसिमका अन्नबालीका २३ जातहरू, ७ किसिमका दलहनबालीका ३९ जातहरू, दुई किसिमका तरकारी बालीका २ जातहरू र तेलहन बालीको एक जात छन्। सामुदायिक बीउ बैंकले यी बीउहरू एक सदस्य एक जात नियम अनुसार जिम्मेवारी बाँडफाँड गरेर नियमितरूपमा बीउ उत्पादन तथा भण्डारण गर्दछ र आवश्यकता अनुसार कृषकहरू, स्थानीय सरकार र गैरसरकारी संघसंस्थाहरूलाई विक्रीवितरण गर्दै आएको छ। सामुदायिक बीउ बैंकमा कुनै बीउ बढी माग भएमा तिनै बीउ उत्पादक सदस्यहरूकोबाट थप बीउ संकलन गरी आपूर्ती गर्दछ। त्यसै गरी चिनो, कागुनो, कोदो, फापर, जौ, लट्टे/मार्से, गुरौंस, गहत, सिमी र भटमासका स्थानीय जातहरू विविधता प्रदर्शनी स्थलमा लगाएर संरक्षण तथा बीउ उत्पादन गर्दछ। यी सबै जातहरूको वार्षिक बीउ उत्पादन लगभग २ देखि ३ मेट्रिक टन रहेको छ।
स्थानीय बाली परियोजनाको सहयोगमा हाँकु सामुदायिक बीउ बैंकले गरेको अर्को महत्वपूर्ण कार्य भनेको जुम्ला जिल्लामा पुस्तौं देखि खेती गरिदै आएको रातो कोदो र लाल मार्सेको अनुसन्धान गरी बीउ विजन नियमावली २०६९ अनुसार बीउ विजन गुणस्तर नियन्त्रण केन्द्रमा पञ्जिकरण गर्नु र त्यसको स्रोत बीउ उत्पादन तथा बजारीकरण गर्नु हो। त्यसैगरी जुम्ला जिल्लामा व्यापकरूपमा रुपमा खेति गरिने चावली जौको जात पनि दर्ता गर्नका लागि प्रक्रिया अघि बढाइएको छ । यो कार्यले हाँकु सामुदायिक बीउ बैंकलाई राष्ट्रिय स्तरमा पहिचान दिलाएको छ। रातो कोदो पञ्जिकरण तथा प्रवर्द्धन गरेवापत हाँकु सामुदायिक बीउ बैंकलाई वि.सं. २०८२ साउन १६ गते प्रथम राष्ट्रिय कोदो दिवसका अवसरमा नेपाल सरकारले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेको थियो।

वि.सं. २०८० जेष्ठ १ गते देखि धौलिगाड कृषि सहकारी संस्थाले तातोपानी गाउँपालिकाको समन्वयमा यु.एन.डी.पी, विश्व खाद्य कार्यक्रम र ली÷बर्डले सञ्चालन गरेको रेरास परियोजनाको सहजिकरणमा तातोपानी गाउँपालिकाको वडा नं. ४, ५ र ६ का १० वटा विद्यालयमा अध्ययनरत ६४७ जना विद्यार्थीहरूका लागि दिवा खाजाका लागि कोदोको पिठो, मार्सी चामल , सिमीको दाल, सिमी, मकैको पिठो, मकैका दाना, आलु, हरिया सागपात, फलफुल लगायतका स्थानीय कृषि उपजहरू आपूर्ति गरिरहेको छ। यसबाट सहकारीका शेयर सदस्य तथा सुमदायका लगभग ३५० घरधुरीलाई उनीहरूले उत्पादन गरेका वार्षिक १० टन जति कृषि उपज बजारीकरण गर्न सहज हुनुका साथै उनीहरूको र सामुदायिक बीउ बैंकको आय वृद्धिमा पनि टेवा पुगेको छ। साथै सहकारीबाट र विभिन्न मेला महोत्सवमा सहभागि भएर पनि स्थानीय बाली विविधतामा आधारित कृषि उपज बजारीकरण गरिरहेको छ। समग्रमा कृषि उपज बजारीकरणबाट वार्षिक २० लाखको हाराहारीमा आम्दानी हुने गरेको छ।
वि.सं २०८१ कार्तिक महिनाबाट सहकारीले विक्री गर्ने कोदोको पिठो, फापरको पिठो, मकैको पिठो, जौको पिठो, मार्सी चामल र सिमीको दाल आफ्नै मिलमा प्रशोधन गरी प्याकेजिङ गरेर विक्रीवितरण गर्दै आएको छ भने सहकारीको मिलबाट कुटानी पिसानीका लागि सदस्य तथा गैर सदस्यहरूलाई सहुलियत दरमा सेवा पनि दिइरहेको छ। यसबाट उपभोक्तालाई गुणस्तरीय तथा मिसावट रहित कृषि उपज उपलब्ध भइरहेको छ भने सहकारीको आम्दानी बढाउन पनि टेवा पुगेको छ।

स्थानीय बाली परियोजनाको अतिरिक्त हाँकु सामुदायिक बीउ बैंक सुदृढीकरणका लागि विभिन्न संघसंस्थाहरूले आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आइरहेका छन्। यसरी सहयोग उपलब्ध गराउनेहरूमा तातोपानी गाउँपालिका, जिल्ला कृषि विकास कार्यालय, सामुदायिक बीउ बैंक संघ नेपाल, ग्रिन इभोलुसन परियोजना, रेरास परियोजना मुख्य छन्।
जुम्ला जिल्लामा युवाहरूको कृषि पेशप्रति घट्दो रूची, बसाइँ सराइ, बजारमुखी बालीहरूको विस्तारले स्थानीय बाली विविधता संरक्षण, उपयोग तथा प्रवर्द्धनमा चुनौती बढ्दो छ। उद्यपी हाँकु सामुदायिक बीउ बैंक जुम्ला जिल्लाको मात्र नभएर कर्णाली प्रदेश कै नमूना सामुदायिक बीउ बैंकका रूपमा विकास भइरहेको छ। यसका लागि व्यवस्थापन समितिको सक्रियता, कर्मचारी व्यवस्था, सरोकारवाला निकायहरूको भूमिका सर्हानीय छ। हाँकु सामुदायिक बीउ बैंकले स्थानीय बाली विविधताहरूको उपयोग मार्फत संरक्षणमा विशेष जोड दिने गरेको छ।
Comments are closed