
अन्नपूर्ण सामुदायिक बीउ बैंक, अन्नपूर्ण गाउँपालिका ३, मराम्चे, कास्की
गण्डकी प्रदेश, कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका ३ मराम्चेमा अवस्थित अन्नपूर्ण सामुदायिक बीउ बैंक प्रगतिशिल कृषि उत्पादक सहकारी संस्था लि.द्वारा सञ्चालित छ। यो सहकारीको स्थापना वि.सं २०६५ मा भएको हो भने अन्नपूर्ण सामुदायिक बीउ बैंकको थालनी वि.सं. २०७६ माघ २० गते भएको हो। पोखरा देखि ३० किलोमिटर उत्तर पश्चिममा पर्ने काँडे बजार देखि २ किलोमिटर भित्र पर्ने मराम्चे गाउँ समुन्द्र सतहबाट १६५० देखि १७०० मिटरको उचाईमा अवस्थित छ।
नेपालको चेरापुन्जी भनेर चिनिने अर्थात सबै भन्दा बढी वर्षाहुने स्थानको रूपमा परिचित लुम्ले कृषि अनुसन्धान केन्द्रसँग मराम्चे गाउँको सिमाना जोडिएको छ। प्रगतिशिल कृषि उत्पादक सहकारीमा संस्थामा अन्नपूर्ण गाउँपालिका वडा नं ३ को मराम्चे र गोलडाँडा टोलका ७५ घरधुरीका १०७ जना सदस्यहरू आवद्ध छन्। यी मध्ये महिला ५७ जना (५३%) र पुरुष ५० जना (४७%) रहेका छन्।
जैविक विविधता संरक्षण तथा विकासका लागि स्थानीय पहल (ली-बर्ड), राष्ट्रिय जीनबैंक र वायोभर्सीटीद्वारा सञ्चालित ‘विविध बीउको बजारिकरण’ परियोजना मार्फत प्रगतिशिल कृषि उत्पादक सहकारी संस्था तथा अन्नपूर्ण सामुदायिक बीउ बैंक स्थापना गरिएको हो। त्यसपछि ली-बर्डद्वारा सञ्चालित पर्यावरणीय कृषि प्रवर्धन कार्यक्रमले सहकारी तथा सामुदायिक बीउ बैंक सुदृढीकरणमा मद्दत पुर्याएको छ।साथै अन्नपूर्ण गाउँपालिका मार्फत परिचालित बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रको संघीय सशर्त अनुदान अन्तर्गत विनियोजित बजेट तथा कृषि ज्ञान केन्द्र, कास्कीको सहयोगले पनि अन्नपूर्ण सामुदायिक बीउ सुदृढीकरणमा टेवा पुगेको छ।

प्रगतिशिल कृषि उत्पादक सहकारी संस्थाको मुख्य उद्देश्य अन्नपूर्ण सामुदायिक बीउ बैंक सञ्चालन गरी अन्नपूर्ण गाउँपालिका तथा आसपासका क्षेत्रमा उपलब्ध स्थनीय बाली विविधता संरक्षण, उपयोग तथा प्रवर्द्धन गर्नु, चिसो सहने स्थानीय तथा उन्नत जातका धानको बीउ उत्पादन गरी गुणस्तरीय बीउमा कृषकहरूको पहुँच बढाउनु, मराम्चे गाउँलाई पर्यावरणीय कृषि गाउँका रूपमा विकास गर्नु र कुनै पनि रासायनिक विषादी तथा रासायनिक मल प्रयोग नगरी उत्पादन गरिएका कृषि उपज उत्पादन तथा बजारीकरण गर्नु र कृषिलाई आयआर्जनको मुख्य माध्यमकारूपमा विकास गरेर सदस्य तथा समुदायका मानिसहरूको जीविकोपार्जन सुधारमा टेवा पुर्याउनु रहेको छ।
अन्नपुर्ण सामुदायिक बीउ बैंकले यसको उद्देश्य अनुसार ३० वटा बाली प्रजातीका १३२ स्थानीय जातहरुको संकलन, संरक्षण, नियमित पुर्नउत्पादन तथा विक्रीवितरण गर्दै आएको छ । यी मध्ये धानका ४७, कोदोका ८ र जरेबालीका १० जातहरू जातीय विविधता प्रदर्शनी स्थलमा लगाएर संरक्षण गरिन्छ भने बाँकी बीउहरू सदस्य कृषकहरूले संरक्षण तथा बीउ उत्पादन गर्दछन्। त्यसैगरी उच्च पहाडी भेगमा उपयुक्त हुने चिसो सहने छोम्रोङ्ग, माछापुच्छ्रे ३ र लुम्ले २ जस्ता जातहरूको वार्षिक ६ टन सम्बीम उ उत्पादन तथा बजारिकरण पनि गर्दै आएको छ। यसबाट चिसो सहने धान खेती हुने क्षेत्रका कृषकहरूका लागि गुणस्तरीय बीउको उपलब्धता भएको छ र उत्पादन वृद्धिमा पनि टेवा पुगेको छ।

अन्नपूर्ण सामुदायिक बीउ बैंकको अर्को महत्वपूर्ण उपलब्धि भनेको गण्डकी प्रदेशका पहाडी जल्ल्हरूमा व्यापक खेती गरिने रैथाने काँक्रो र लोपोन्मुख अवस्थामा रहेको कालोपात्ले धान राष्ट्रिय बीउ विजन समितिमा पञ्जिकरण गर्नु हो। यो काम लीबर्ड र राष्टिय जीनबैंकसँग सहकार्यमा सम्भव भएको हो।यी दुवै जातको पञ्जिकरण वि.सं. २०८१ मा भएको हो। यस सामुदायिक बीउ बैंकले यी दुवै जातका स्रोत बीउ तथा उन्नत बीउ उत्पादन गरी प्रमाणिकरण गरेर बजारीकरण गर्न थालिसकेको छ।
त्यसैगरी पर्यावरणीय कृषि प्रवर्धन कार्यक्रमको सहयोगमा मराम्चे गाउँलाई पर्यावरणीय कृषि गाउँका रूपमा विकास गरिएको छ। यहाँका कृषकहरूले कृषि कार्यमा कुनै किसिमका रासायनिक विषादी तथा रासायनिक मल प्रयोग गर्दैनन्। त्यसैले त यहाँको ताजा तरकारी तथा अन्य कृषि उपजहरू पोखराका व्यापारीहरूको रोजाइमा परेको छ। हाल यो गाउँ पर्यावरणीय कृषिको शिकाई केन्द्रकारूपमा विकास भइरहेको छ।
प्रगतिशिल कृषि उत्पादक सहकारी संस्थाले सामुदायिक बीउ बैंकको दिगोपनाका लागि कृषि जैविक विविधता संरक्षण कोष स्थापना गरेको छ। यस कोषमा ली÷बर्डबाट ३ लाख ५० हजार, सहकारीको आफ्नो एक लाख ५० हजार र अन्नपूर्ण गाउँपालिकाबाट एक लाख गरी ६ लाख जम्मा भएको छ। कोषको परिचालनका लागि निर्देशिका तयार गरिएको छ त्यस अनुसार सदस्यहरुलाई स्थानीय बाली विविधता संरक्षणमा सहभागि हुने सदस्यलाई आठ प्रतिशत व्याज दरमा ऋण उपलब्ध गराइन्छ। यो सहकारीले परिचालन गर्ने अन्य ऋणको व्याज भन्दा दुई प्रतिशत कम हो।

प्रगतिशिल कृषि उत्पादक सहकारी संस्थाले सामुदायिक बीउ बैंक मार्फत स्थानीय बाली विविधता संरक्षण, उपयोग तथा प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याएवापत ली÷बर्डबाट वि.सं. २०७६ भदौ ८ गते पच्चीस हजार राशीको सृजनशिल कृषक समूह पुरस्कार प्राप्त गरेको थियो भने अन्नपूर्ण गाउँपालिकाले राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा वि.सं. २०८० माघ १ गते ५० हजार नगद र वि.सं. २०८१ माघ ४ गते एक लाख नगद र प्रमाणपत्र प्रदान गरेको थियो।
विभिन्न सरकारी एवं गैरसरकारी संस्थाहरुको सहयोगमा अन्नपुर्ण सामुदायिक बीउ बैंक गण्डकी प्रदेशको एउटा सफल सामुदायिक बीउ बैंकको रूपमा स्थापित भएको छ। यसले आर्थिक तथा प्राविधिक सहयोगका लागि ली-बर्ड, राष्ट्रिय जीन बैंक, वायोभर्सीटी, सामुदायिक बीउ बैंक संघ नेपाल, अन्नपूर्ण गाउँपालिका, कृषि ज्ञान केन्द्र सहकार्य गरेको छ। त्यसैगरी बीउ उत्पादन तथा प्रमाणीकरण, खाद्यान्न उत्पादन तथा बजारीकरणका लागि कृषि अनुसन्धान निर्देशनालय, लुम्ले; गण्डकी प्रदेश बीउ विजन परीक्षण प्रयोगशाला; राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, अन्नपात लगायतका सरकारी तथा निजी क्षेत्रका सरोकारवाला निकायहरूसँग पनि सहकार्य गरिरहेको छ।
Comments are closed