नेपालको तराइ, पहाडी र हिमाली क्षेत्रमा हाल उपलब्ध स्थानीय बाली विविधताको यथास्थानीय संरक्षण तथा दिगो उपयोगका लागि ‘एक स्थानीय निकाय, एक सामुदायिक बीउ बैंक‘ स्थापना हुनुपर्छ भन्ने मान्यता सामुदायिक बीउ बैंक संघ नेपालको रहेको छ। तर यसका लागि सरकारी तथा गैरसरकारी निकाय तथा सरोकारवाला संघसंस्थाहरूका विच घनिभुत छलपल तथा अन्तरक्रिया आवश्यक छ भने ती निकायमा कार्यरत कर्मचारीहरूको क्षमता विकास गर्नु पनि उत्तिकै जरूरी छ।
सामुदायिक बीउ बैंक नेपालले स्थानीय बाली विविधताको महत्व र संरक्षण तथा दिगो उपयोगप्रति स्थानीय सरकार तथा सरोकारवालाहरूको सकारात्मक धारणा विकास गर्न ती निकायहसँग औपचारिक तथा अनौपचारिक छलपफल तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्दछ।
कृषि जैविक विविधता संरक्षण तथा उपयोग सम्बन्धी नीति तथा कार्यक्रमहरूमा सामुदायिक बीउ बैंक संघ नेपाल कृषि विभाग अन्तरगतको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रसँग समन्वयमा काम गर्दछ। केन्द्रले वि.सं. २०७९ देखि सामुदायिक बीउ बैंकहरूले स्थानीय बाली विविधता संरक्षण तथा उपयोगमा पुर्याएको योगदानको कदर गर्दै प्रत्येक वर्षको माघ १ गते देखि ७ गते सम्म मनाइने राष्ट्रिय कृषि जैविक विविधता दिवस मूल समारोहमा सामुदायिक बीउ बैंकहरूलाइ पुरस्कृत गर्न थालेको छ। वि.सं. २०८० मा यो पुरस्कार सामुदायिक बीउ बैंक संघ नेपालमा आवद्द पाँचवटा सामुदायिक बीउ बैंकहरूले प्राप्त गरेका थिए।
संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि जैविक विविधता नीति अन्तरगत गठन भएको राष्ट्रिय कृषि जैविक विविधता समन्वय समितिमा महिला कृषक प्रतिनिधिको स्थानमा सामुदायिक बीउ बैंक संघ नेपालको अध्यक्षलाइ मनोनयन गरेको छ।
स्थानीय बाली विविधताको परस्थानीय संरक्षणका लागि सामुदायिक बीउ बैंक संघ नेपाल राष्ट्रिय जीनबैंकसँग समन्वयमा काम गर्दछ।
खाद्य र कृषिका लागि वानस्पतिक आनुवंशिक स्रोत सम्बन्धी अन्तराष्ट्रिय सन्धी (ITPGRFA) को कृषक अधिकार सम्बन्धी धाराको कार्यान्वयन सम्बन्धमा बनेको विज्ञहरूको प्राविधिक समूह (Ad Hoc Technical Expert Group on Farmers’ Rights) मा पनि सामुदायिक बीउ बैंक संघले कृषकहरूको संस्थाको प्रतिनिधित्व गर्दछ।
सामुदायिक बीउ बैंक र बीउमा कृषक अधिकार विषयमा आयोजना गरिने राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा गोष्ठी तथा सभा र समारोहहरूमा सामुदायिक बीउ बैंक नेपालले सहभागि भइ नेपालको शिकाइ तथा अनुभव आदान प्रदान गर्ने कार्य गर्दछ।
सामुदायिक बीउ बैंक नेपाल विश्वमा पर्यावरणीय कृषि प्रवर्धनका लागि बनेको अन्तरराष्ट्रिय सञ्जाल (Agroecology Coalition) को सदस्य पनि हो।